धरान: आज महाशिवरात्री पर्व देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइदैछ । 

काठमाण्डौंस्थित पशुपति नाथ, धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत महत्वपुर्ण शिवलायहरुमा आज बिहानैदेखि भक्तजनहरुको पूजा आराधाना गर्न घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

पिण्डेश्वरमा लघुरुद्री पूजा र लक्षदिप बालिने

pindeswor1

धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनहरु पूजा आराधानाको लागि पुगेका छन् । तर, यसपाली विगतमा जस्तो साधु तथा बाबाहरु भने भारतबाट आएका छैनन् । कोरोनाको कारण भारतबाट साधुहरु आउन नपाएको हुनसक्ने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । 

अध्यक्ष वनेपालीका अनुसार आज बिहानदेखि पिण्डेश्वरमा लघुरुद्री पुजा हुनेछ । महाशिवरात्रीमा यो महत्वपुर्ण पुजा हो । यस्तै, साँझ लक्षदिप बालेर धुनी बालिने अध्यक्ष वनेपालीले जानकारी दिए । 'बिहान लघुरुद्री पुजा हुन्छ । भरै लाख बत्ति बालेर धुनी बालिन्छ,'अध्यक्ष वनेपालीले भने, भक्तजनहरु बिहानैदेखि आउने जाने क्रम छ । यसपाली भारतबाट बाबा जीहरु आउनु भएको छैन ।