इटहरीः ट्यूवेलको आवाजले टोलका धेरै मानिस साँझको खाना पकाउन पानी तानिरहेको ठम्याउन गाह्रो भएन । इटहरी उपमहानगरपालिका ९ को मल्लिक वस्तीमा मिश्रित ८० घर छन् । यहाँका आधा घरमा भने अझै विभिन्न दातृ निकायले गाडिदिएका ट्यूवेल छन् ।
टोलका घरमा भने इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क जडान गरिदिएका धारा छन् । ज्योति माविमा कक्षा ९ मा अध्ययनरत यही टोलकी सोनी मल्लिक भने दिदीसँग भर्खरै घर आइपुगेकी थिइन् । विद्यालयको पोसाक परिवर्तन गरेर घरको काममा जुट्न हातखुट्टा धुँदै गर्दा उनीहरूलाई मैले सोधेँ, ‘यहाँ ट्यूवेल छैन ?’ दुवैले एकै सासमा भने,‘छन त छ । तर धाराको पानी आइहाल्छ, किन कल चलाउनु ?’
मजदुरी गरेर परिवार चलाइरहेको मल्लिक परिवारका आमा र बुवा कामबाट फर्किनु अगाडी दिदीबहिनी मिलेर खाना बनाउने काम गर्नुपर्नेछ । समय रहे गृहकार्य सक्ने मुडमा थिए, दुवै ।
खानेपानी संस्थाका कर्मचारी आएर निःशुल्क धारा जोडिदिएपछि भने यी दुबैलाई धेरै सहज भएको बताउँछन् । ‘पहिले त कलको (ट्यूवेल) पानी तान्दातान्दै हैरान हुनुपथ्र्यो,’सोनी मल्लिकले भनिन्, ‘अहिले नुहाउन, खाना पकाउन र कपडा धुन सजिलो भएको छ । धाराको पानीले कपडा धुँदा कलको पानी जस्तो रातो धब्बा पनि देखिँदैन ।’
पानीको शुद्धताबारे जानकार यी मल्लिक दिदीबहिनीले धाराको पानी निर्धक्क भएर पिउन सकिने बताए । पहिले कलको पानीमा अखाद्य तत्व मिसावट भएर आउँदा स्वास्थ्यको लागि हानिकारक हुने भएता पनि अहिले ढुक्कले पानी पिउन सकिने बताए ।
उनीहरूले कतिपय छिमेकी अझै पनि कलको पानी सफा कपडामा छानेर पिउने गरेको बताउँछन् । कारण, आधा टोलवासीका घरमा मात्र धारा जडान गरिएको छ । ६० हिउँद कटाएकी छिमेकी सविता मल्लिकको अनुभव पनि यी दुई दिदीबहिनीको भन्दा कम छैन । नजिकैको इटहरी बजारमा सफाइ मजदुरी गर्ने यिनका परिवारका सदस्यलाई कल मात्र हुँदा समस्या थियो । अहिले निःशुल्क धारा जडान भएपछि दैनिकी फेरिएको छ ।
‘उमेर पाको हुँदै गएपछि कल खिच्न सक्दिन थिएँ । धारा जोडिदिएपछि सजिलो भएको छ,’उनले धारा छेउको प्रयोग नगरिएको कल देखाउँदै भनिन् ‘यो कल मात्र थियो भने त म बुढीले कसरी बेलैमा भात पकाउन सक्थे होला ।’ भान्सामा काम गर्दै गर्दा उनका नाति नातीनाले धाराको पानी ल्याइदिन्छन्न् । कपडा धुँदा पनि उनीहरूले धाराको पानी ल्याएर काममा सघाइदिने गरेको मल्लिकले बताइन् ।
जीवित प्राणी वा वनस्पतिका लागि पानी अपरिहार्य पदार्थ हो । अझै मानिसका लागि त पिउन मात्र होइन सफाइका लागि पनि पानी अनिवार्य वस्तु हो । निम्न वर्गका मानिसका लागि अत्यावश्यक वस्तु पानीको उपभोगबाट वञ्चित हुन नपरोस् भनेर इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क धारा जडानको ‘कन्सेप्ट’ ल्याएको हो । किनकि धारा जडानको न्यूनतम शुल्क १५ हजार ५ सय ५० रुपैयाँ छ ।
धेरै मनिसलाई हातमुख जोर्नै समस्या भइरहेको बेला एकै पटक धारा जोड्ने रकम निकाल्न सक्दैनन् । यही समस्यालाई मध्यनजर गरेर संस्थाले पैसा तिरेर धारा जडान गर्न नसक्ने सुकुम्वासी, अल्पसंख्यक न्यून आय भएका मानिस बसोबास गर्ने बस्तीमा दुुइ चरणमा ‘गरिबका लागि खानेपानी कार्यक्रम’ सुरु गरेको छ ।
संस्थाका शाखा अधिकृत राजु दंगालका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा संस्थाले हालका ७, ८, ९ र १४ नम्बर वडाका १ हजार १ सय ३६ घरमा निःशुल्क धारा जडानको काम सम्पन्न गरेको छ । त्यस्तै दोस्रो चरण अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ४ र ५ नम्बर वडाका ३ सय १२ घरमा निःशुल्क धारा जडान गरिएको छ ।
संस्थाले आउने दिनमा धारा जडान गर्न नसक्ने व्यक्तिको पहिचान गर्दै निःशुल्क धारा जडानको कार्यक्रम जारी राख्ने अध्यक्ष रामप्रसाद चौलागाइले बताए । ‘थोरै आम्दानी भएका व्यक्तिलाई एकै पटक यत्रो रकम कसरी निकाल्ने समस्या हुन्छ । तर, मिटरअनुसार मासिक बिल तिर्न भने समस्या हुँदैन,’अध्यक्ष चौलागाईले भने, ‘धारा जडान गर्नै नसक्नेले पानी उपभोग गर्नबाट वञ्चित गराइनु हुन्न भनेर हामीले कार्यक्रम पहिलो पटक दातृ निकायसँग सहकार्य गरेर सँचालनमा ल्याएका थियौँ । पछि आफैँले निरन्तरता दियौँ ।’
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार इटहरीमा ३३ हजार ७ सय ६४ घर रहेका छन् । नगरको पछिल्लो आँकडाअनुसार ४१ हजार घरधुरी रहेको देखिन्छ । पचासको दशकदेखि तीव्र सहरीकरण भएको इटहरीमा भने हरेक दशकमा जनसङ्ख्या दोब्बर हुने विशेषता रहेको छ ।
इटहरीका तत्कालीन छिमेकी गाउँ विकास समिति समेत मिसिएपछि नगर भित्रको पानीको मागलाई सम्बोधन गर्न खानेपानी संस्थाले द्रुत गतिमा काम गरिरहेको अध्यक्ष चौलागाईले बताए । उनकाअनुसार अहिले खनार र एकम्बामा समेत छुट्टै खानेपानी उपभोक्ता संस्था रहेको छ । त्यसले उक्त क्षेत्रको केही मागलाई सम्बोधन गरिरहेको छ ।
इटहरी खानेपानी उपभोक्ता संस्थाले भने हाल १८ हजार ४ सय ५१ घरधुरीमा पानी वितरण गरेको छ । जसमध्ये हालसम्म १ हजार ४ सय ४८ घरमा निःशुल्क धारा जोडिसकिएको छ । भूमिहीन, सुकुम्वासीको बाक्लो बसोबास भएको क्षेत्रका सबै घरमा अझै पनि निःशुल्क धारा जडान हुन सकेको छैन । इटहरी ९ कै मल्लिक बस्तीमा यो सेवाबाट छुटेका स्थानीयले छिमेकले शुद्ध पानी पिउन पाए पनि आफू वञ्चित भएको गुनासो गरेका छन् । ‘कलको पानी जस्तो धाराको पानी सजिलै कहाँ दिन्छन् । बिल उठ्छ नी,’मजदुरी गर्ने सुशील राउतले भने ‘हाम्रो घरमा पनि धारा जोडिदिए सजिलो हुन्थ्यो । बालबच्चाले राम्रो पानी पाउँथे ।’
स्थानीय विजय मल्लिकका अनुसार धारा जोडिदिने भन्दै विभिन्न संस्थाका मानिस आउने गरेपनि हालसम्म नजोडिदिएको बताए । उनले धारा जडान खर्च नै बेहोर्न नसक्नेलाई चाँडो धारा जोडिदिन आग्रह गर्दै भने ‘छिमेकीले धाराको राम्रो पानी पिउँछन् । हामी टुलुटुलु हेरिरहन्छौँ । यतिका दिन बित्यो, हाम्रोमा धारा जोडिदिएनन् ।’
त्यस्तै इटहरी १४ का राहुल सरदारले आफ्नो टोलका धेरै मानिसको घरमा धारा भए पनि बुढेसकालमा कलकै पानी पिउने गरेको बताए । ‘अरूको घरमा त धारा छ । हाम्रोमा छैन,’उनले भने,‘जोडिदिने भन्छन्, खोइ, कहिले आउने हुन् ।’
खानेपानी संस्थाले क्षमता भएर पनि धारा जडान नगरेका धेरै मानिसका लागि यो कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ । ‘संस्थाको उद्देश्य पैसा नभएर पानी पिउनबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने त हो नै,’अध्यक्ष चौलागाइ भन्छन्,‘छिमेकका निम्न आय भएका व्यक्तिको घरमा हामीले धारा जोडिदिएपछि क्षमता भएर पनि धारा नजोडेको व्यक्तिले भोलिपल्टै निवेदन लिएर यहाँ आएको देखेको छु ।’ उनले धारा जडान गर्ने बढेको हुँदा संस्थाको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको जानकारी दिए ।
चौलागाइका अनुसार २०५४ सालमा स्थापना भएको खानेपानी संस्थाले हाल दैनिक १८ हजार घरमा पानी र्पुयाइरहेको छ । चौबिसै घण्टा सेवा दिएर २५ हजार घरधुरीमा पानी र्पुयाउने संस्थाले सामथ्र्य बोकेको छ । संस्थाले प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा थप न्यून आय भएका व्यक्तिको घर– घरमा निःशुल्क धारा जडान गर्ने योजना अघि सारेको छ । यसले इटहरी नगर क्षेत्र भित्रका कोही पनि व्यक्ति पैसा अभावमा शुद्ध पानी पिउन नछुटुन् भन्ने उद्देश्य राखेको देखिन्छ ।
अत्यावश्यक वस्तुको रूपमा रहेको खानेपानी, पैसा अभावकै कारण उपभोग गर्न नपाइने अवस्थाको सृजना नहोस् भन्न आगामी दिनमा निःशुल्क धारा जडान कार्यक्रम थप प्रभावकारी बनाउँदै लग्नुपर्ने आवश्यक देखिन्छ । यसले कुनै पनि संस्था नाफामुखी मात्र होइन, सेवामुखी पनि छन् भन्ने प्रस्ट्याउँछ ।