धरान: पाँचथरको फिदिमका एक युवा लागुऔषधसहित धरानमा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित धरानमा पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै, झापाबाट प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले बिर्तामोड नगरपालिका ३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका ६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका ७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी ६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी ५ का १६ बर्षीय बालक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको जनाएको छ ।

यसैगरि, झापाकै बुद्धशान्ती गाउँपालिका ३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु पनि ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।