धरान: दलित मुक्ति आन्दोलनमा नेतृत्वदायी तथा महत्वपुर्ण योगदान पुर्याएका धरानका दुई जना दलित अगुवालाई सम्मान गरिएको छ । 

धरान उपमहानगरपालिकाको दलित विकास समितिले आइतबार पुर्वमन्त्रीसमेत रहेका नेता मिन विश्वकर्मा र नेतृ नरमाया परियारलाई सम्मान गरेको हो । उनीहरु दुवैलाई दलित अगुवा स्मृति समाज सुधार सम्मानबाट सम्मान गरेको समितिले जनाएको छ । समितिका सदस्य सचिव तारा लामगादेका अनुसार दुवैलाई जनही १० हजार ५ सय नगदसहित सम्मान गरिएको थियो । पुर्वमन्त्री विश्वकर्माले तीन दशकदेखि जातीय विभेदविरुद्ध समाज सुधारको लागि नेपालको दलित आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याएको समितिको भनाई छ ।

यस्तै, अर्का सम्मानित नेतृ परियारले विगत २ दशकदेखि दलित मुक्ति आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको, दलित उत्थान समन्वय समितिको संस्थापक अध्यक्ष, दलित महिला सञ्जालको संस्थापक अध्यक्षलगायत महत्वपुर्ण जिम्मेवारीसमेत निर्वाह गरिसकेको कारण सम्मान गरिएको समितिको भनाई छ । ‘दिलबहादुर रामदामको संयोजकत्वमा छनौट समिति गठन गरेका थियौं, समितिले उहाँहरु २ जनाको सिफारिश गरेकोले सम्मान गरिएको हो,’सदस्य सचिव लामगादेले भने,‘अग्रजहरुलाई सम्झनुपर्छ, र जिउँदैमा सम्मान गर्नुपर्छ भन्ने मान्यता अनुसार यो सम्मानको थालनी गरेका हौं ।’

dalit-samman

दलित विकास समितिका अनुसार दिवंगत भइसकेका धरानका अगुवा दलित अभियन्ताहरुको स्मृतिमा दलित अगुवा स्मृति समाज सुधार सम्मानको शुरुवात गरिएको हो । यो सम्मान स्वर्गीय जदुवीर विश्वकर्मा, टि.आर.विश्वकर्मा, पृथ्वीमान मोते र डिल्लीराम शिवाको स्मृतिमा दिइन थालिएको हो । नेपालको दलित मुक्ति आन्दोलनमा उनीहरुको ठुलो योगदान छ । 

यसैगरि, सोही कार्यक्रममा अन्तरजातीय विवाह गरेका १४ जना जोडीलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा दलित परिवारमा विवाह गरेर आएकी गैरदलित बुहारीकोतर्फबाट निरु पौडेल र शारदा मास्केले अनुभव बाँडेकी थिइन् भने गैरदलित युवती विवाह गरेको परिवारकोतर्फबाट ज्वाँईको अनुभव धरानका सञ्चारकर्मी विनोद दर्नालले अनुभव बाँडेका थिए । ‘समाज हामीसँग सँगै जानुपर्छ, दलित मुक्ति आन्दोलनको दलितको मात्र होइन, सबैको हुनुपर्छ । गैरदलितहरु पनि आन्दोलनमा समाहित हुनुपर्छ भन्ने उद्देश्य हो,’सदस्य सचिव लामगादेले भने । कार्यक्रम दलित विकास समितिका संयोजक किसोर परियारको अध्यक्षतामा भएको थियो ।