सुनसरी: चैत १२ गते एक जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटनामा ठक्कर दिने बसको चालकलाई भगाएर नक्कली चालक खडा गर्ने यातायात प्रालिका दुई जना सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर १२ का जीवन खनाल र नेत्रप्रसाद पाठक रहेका छन् । उनीहरु दुवै कोशी यातायात प्रालि इटहरीको सञ्चालक समितिको सदस्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुले दुर्घटनामा नक्कली चालक उपस्थित गराएर सक्कली चालक भगाएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार चैत्र १२ गते पुर्वपश्चिम राजमार्गस्थित कोशी गाउँपालिका ८ तीनकुनेमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त बसको ठक्करबाट मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बिराट नर्सिङ होममा चैत्र १३ गते मृत्यु भएको थियो ।
उक्त दुर्घटना पश्चात चालक फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालकको खोजी गरिरहेको बेला कोशी यातायातका संचालक समितिका सदस्यद्धय खनाल र पाठकले अमितकुमार गुप्तालाई बसको चालक भनेर उपस्थिति गराएका थिए । सिरहाको लाहान ८ घर भएका गुप्ता बिराटनगर बस्दै आएका थिए । तर, प्रहरीले अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र ५० हजार रुपैया दिने प्रलोभन दिएको वयान दिएपछि मिलेमतो खुलेको थियो । गुप्ताका अनुसार उनलाई अदालतबाट छुटकारा समेत दिलाई दिने भनेर ५० हजारको आर्थिक प्रलोभनमा प्रहरी कर्यालयमा उपस्थिति गराएको खुलेको थियो ।
गुप्ताको यो वयान पछि कोशी यातायातको संचालक समिति सदस्यद्धय खनाल र पाठकलाई पक्राउ गरेर सार्वज्निक गरेको हो । घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको अभियोगमा उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।