धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । 

धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार मेयर तिलक राईको नेतृत्वमा खानेपानीलाई सहज बनाउन दिनरात नभनी काम भईरहेकोछ । धरानमा दैनिकरुपमा धारामा पानी नआउँदा उपभोक्ताहरु पीडित भइरहेका थिए । अब यो समस्या क्रमशः हल हुदै जाने पनि बोर्डको भनाई छ ।

खानेपानी बोर्डको अध्यक्ष समेत रहेका मेयर राईले शुक्रबार बिहान वडा नं ११, १६, १७ र १८ नम्बर वडाका उपभोक्ताहरुको घरघरमा पुगेर धारामा पानी आए, नआएको बारेमा अनुगमन गरेका थिए । अवलोकनको क्रममा वडाबासीहरुले एक महिनादेखि खानेपानी समस्या भइरहेको गुनासो गरेका थिए । वडा नं. १७ रत्नचोककी लक्ष्मी राईले आजदेखि भने धारामा पानी आउन थालेको बताइन् । खानेपानीको ट्यांकी भरिएको र करेसाबारी, फूलहरुमा पनि पानी लगाउन पुगेको उनले बताइन् ।

स्थानीय उषा सुनुवारले दिन विराएर भएपनि १ देखि २ घण्टासम्म धारामा पानी वितरण भएमा समस्या नहुने सुझाव दिइन् । उनले समयमै पानी वितरण गर्ने कर्मचारीलाई व्यवस्थापन गर्न जरुरी रहेको पनि बताइन् । कर्मचारीकै लापारबाहीको कारण खानेपानीको समस्या भएको उनको भनाई थियो । 

केही वडाबासीहरुले पुराना प्लम्बरहरुका कारण पानी विरतणमा समस्या भएको बताएका थिए । ती प्लम्बरहरु पैसा नलिईकन कामै गर्न नमान्ने गरेको पनि उनीहरुको गुनासो थियो । धरान १६ का पूर्ण राईले राति ४ बजेदेखि विहान ९ बजेसम्म पानी आएको बताए । उनले खानेपानी सहज बनाउनका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको बताए ।