धरान: धरान उपमहानगरपालिकाको ११ नम्बर वडा कार्यालयले बाल विवाह रोक्न सचेतना कार्यक्रम संचालन गरिरहेको छ । 

धरान ११ को गैरी टोलमा रहेको मरिक बस्तीमा बाल विवाह हुने गरेको भन्दै उक्त सचेतना कार्यक्रम संचलन गरेको बालबालिका कार्यक्रम संयोजक तथा वडा सदस्य किरण राईले बताए । शनिबार धरान ११ को गैरी टोलस्थित लोरिटो भवनका उक्त सचेतना कार्यक्रम सम्पन्न भएको थियो । धरान ११ बाल मैत्री वडा घोषणा भइसकेको छ । यसलाई निरन्तरता दिने क्रममा बालबालिका लक्षित कार्यक्रम अन्तरगत नै बाल विवाह सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको वडाध्यक्ष बाबुलाल लामाले बताए ।

बाल विवाह समाजिक, आर्थिक दृष्टीकोणले मात्र नभएर आमा र बच्चाको स्वास्थ्य अनि परिवारको वृद्धि र विकासमा समेत अवरोध गर्ने सहजकता सीता बस्नेतले जानकारी गराएकी थिइन् । कार्यक्रममा बाल विवाह नगराउन आफ्नो टोल बस्ती वडामा सचेतना दिने मात्र भएर बाल विवाह भएको थाहा पाएमा रोक्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

टोल विकास संस्थाका अध्यक्ष नरध्वज तामाङ्ग, ब्राईट बाल विकास संस्थाका अध्यक्ष दिपक लिम्बु, वडाका बालबालिका सहजकर्ता सवेरा श्रेष्ठले बाल विवाह सामाजिक पाप र कानूनी अपराध भएको कुरा बोलेका थिए । कार्यक्रममा मरिक वस्ती, टोल विकास संस्था, बाल क्लव लगायतका बाक्लो सहभागिता रहेको थियो ।