धरान: ट्रिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले कोशी राजमार्ग अवरुद्ध पारेका छन् ।
आज दिउँसो करिब साढे २ बजे प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले इटहरी १ का ७२ बर्षीय कर्णबहादुर गुरुङलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट वृद्ध गुरुङको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता एवं डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार कोशी राजमार्गको इटहरी खण्डको आर्दश मार्ग गेट छेउमा धरानतर्फ आइरहेको ट्रिपर सडक साइडमा रोकी राखेको बेला पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिएको थियो ।
वृद्धलाई ठक्कर दिने ट्रिपर चालक इटहरी १९ का २९ बर्षीय अनिल चौधरी प्रहरी नियन्त्रणमा छन् । घटनापछि आक्रोशित स्थानीयबासीहरुले कोशी राजमार्गको धरान-इटहरी सडक खण्ड अवरुद्ध पारेका छन् । अहिले उक्त सडक खण्डमा चल्ने सवारीसाधनहरुलाई डाइभर्सन गरेर आवागमन सुचारु गरिरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।