धरान: कोरोना संक्रमणको दर पुनः बढेसँगै सुनसरीमा मेला, महोत्सव, सास्ँकृतिक कार्यक्रमलगायत भिडभाड हुने गतिविधिहरुमा रोक लगाउने निर्णय भएको छ ।

आज (मंगलबार) सम्पन्न जिल्ला समन्वय समितिको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भिडभाड हुन नदिन र संक्रमणको चेनलाई तोड्न यस्तो निर्णय गरेको हो । भिडभाड हुने खालका यस्ता कुनै पनि गतिविधि हुन नदिने बैठकको निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ । सोही बैठकले विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार अधिकार स्थानीय तहलाई दिएको छ । विद्यालयमा कोभिडको प्रभाव पर्नसक्ने सम्भावना रहेकोले विद्यालय सञ्चालन गर्ने नगर्ने निर्णय सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय गरेको हो । 

यस्तै, साप्ताहिकरुपमा लाग्ने हाट बजार सञ्चालन गर्ने नगर्ने निर्णय पनि स्थानीय तहले नै गर्ने निर्णय समन्वय समितिको बैठकले गरेको छ । यसको कार्यान्वयनको लागि स्थानीय सुरक्षा निकायहरुले सहयोग र सहजीकरण गर्ने पनि निर्णय गरेको छ । प्रजिअ र सुरक्षा निकायका प्रमुख एवं बिषयगत कार्यालयका प्रमुखहरुसमेतको सहभागितामा भएको बैठकले सुनसरीमा पनि संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यकर्मीलगायत स्वास्थ्य सामग्री तथा जनशक्तिसहितको क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुसमेत तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ। 

यसैगरि, सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी निकासी नियन्त्रणको लागि नेपाल आयल निगम र सुरक्षा निकायहरुले बिशेष ध्यान दिने, पुर्व निर्णय वमोजिम स्थानीय वडा अध्यक्षको सिफारिशलाई आधार लिई पेट्रोल पम्पले इन्धन बिक्री गर्ने, निगमले पेट्रोल पम्पहरुलाई तेल दिदा स्थानीय पालिका र सुरक्षा निकायलाई जानकारी दिनेलगायत निर्णय पनि बैठकले गरेको छ । सुनसरी जिल्लालाई २०७८ जेठसम्ममा पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न पुर्वतयारीका लागि गर्नुपर्ने सम्पुर्ण क्रियाकलाप बैशाख मसान्तसम्म सबै पालिकाहरुले सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । jilla1