धरान: खानेपानीको हाहाकार भइरहेको धरानमा हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितरण हुने खानेपानीको मेन पाइपलाइनमा अज्ञान दुई व्यक्तिले प्वाल पारिएको छ ।
धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको केही उत्तरतर्फ जंगलबाट पम्पिङ गरेर वीपी प्रतिष्ठानमा लैजाने पाइपलाइनमा नै प्वाल पारिएको हो । स्थानीयका अनुसार दुई व्यक्तिले खानेपानी अफिसबाट आएको भन्दै जमिन खनेर मेनपाइपमा प्वाल पारेर भागेको बताएका छन् । तर उनीहरु को हुन् भनेर आफुहरुले पनि नचिनेको स्थानीयको भनाई छ ।
ती दुई व्यक्तिले हिजो दिउँसो करिब ४ बजेतिर जमिन खनेर पाइपमा प्वाल पारेका थिए । उनीहरुले मेशिनको प्रयोग गरेर पाइपमा प्वाल पारेलगत्तै पानी निस्कन थालेको र रोक्न नसकेपछि भागेको स्थानीय सुष्मा लिम्बुले बताइन् । ‘भर्खरको केटाहरु थिए । के गरेको भाई भन्यौं, माथि अफिसबाट आएको भन्यो । पानी फोर्समा आएपछि थुन्न सकेन, उनीहरु भागी हाल्यो,’उनले भनिन् ।
पानी निरन्तर बगेपछि वडाअध्यक्ष पुर्ण लिम्बुले राती खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी गराएका थिए । त्यसपछि मात्र वीपी प्रतिष्ठानको पम्प बन्द गराएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए । राती करिब १० बजेपछि आज बिहान १० बजेसम्म वीपी प्रतिष्ठानमा पानी बन्द भएको थियो । आज बिहान मर्मत गरेपछि पानी सुचारु भइसकेको पोख्रेलले बताए । घटनास्थलमा आज बिहान मेयर तिलक राईले स्थलगत अवलोकन गरेका थिए । उनले केही मानिस र साविकका खानेपानी संस्थनका कर्मचारीहरुबाट जानाजान असहयोग भइरहेको बताए ।
आयोजना तथा खानेपानी वितरणमा गल्ती, कमीकमजोरी भए सुधार गर्न आफुहरु तयार रहेको भन्दै मेयर राईले अनधिकृतरुपमा जोरजर्बजस्ती गर्नेलाई कानुनी कारबाही गरिने बताए । ‘आयोजना जिम्मा लिएको पनि होइन, ठेकेदार र परामर्शदाताले ९ महिना सञ्चालन गर्छ । ठिक भएपछि जिम्मा लिने हो,’उनले भने,‘नगरबासीको सल्लाह सुझाव मान्छांै, तर जुन खालको गतिविधि भइरहेको छ, व्यवस्थापनलाई असहयोग हो वा आफु खुशी गर्न खोजेको हो ।’