सुनसरी: मध्यराती सुनसरीको बर्जु गाउँपालिकामा कुटपिट गरी नगद लुटेर लैजाने ५ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
बर्जु १ का सुभाष चौधरीको घरमा गत फागुन ६ गते डाँका गरि फरार भएकाहरुलाई दुहबी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्जु १ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी ११ का ३० बर्षीय सर्वन उराव रहेका छन् । यो समुहले फागुन ६ गते मध्यराती सुभाषको घरमा प्रवेश गरेर परिवारलाइ कुटपिट गरेको थियो भने घरमा रहेको नगद ५४ हजारसमेत डाँका गरी लगेको दुहबी प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनएको छ । प्रहरीका अनुसार पक्राउ परेकी मध्ये सृजना घटनाको मुख्य योजनाकार रहेको खुलेको छ । उनले रिसइबी साध्ने सोच बनाएर आर्थिक प्रलोभन देखाई सुभाषको घरमा डाँडा गर्न लगाएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय दुहबीका अनुसार पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोली पनि वरामद भएको छ ।
प्रहरीका अनुसार गत बर्ष जेठ २३ गते सुभासको भतिजलगायत रातको समयमा सृर्जनाको घरमा प्रवेश गरेर स्कुटर तोडफोड गरेको थियो । यो बिषयमा सृर्जनाले मुद्दा दर्ता गरेकी थिइन् । यो घटना काका ससुरा पर्ने सुभास चौतरीले गराएको उनको आशंका थियो । श्रीमानको हकमा परेको पैत्रिक अंशसमेत बेचेर ३० लाख घरमा नै राखेको भनेर सृर्जनाले रिसइबी साध्न सुभाषको घरमा डाँका गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । सुभाषको घरमा डाँका गर्नको लागि उनीहरुले भारतको विरपुर गएर २० हजार भारुमा पेस्तोल र एक थान गोलीसमेत खरीद गरेका ल्याएका थिए । सृर्जनाले नै राती सुभाषको घरमा डाँका गर्न निर्देशन दिएर घर प्रवेश गर्ने बाटोसमेत देखाइदिएको प्रहरीले जनाएको छ ।