धरान: खानेपानीको चरम अभाव भइरहेको धरानमा पानीको प्रमुख स्रोतकोरुपमा रहेको सर्दु र खर्दु खोलाको मुहान मर्मत गर्ने तयारी गरिएको छ ।
खानेपानीको उत्पादन बढाउन र वितरणमा सहजीकरण गर्नको धरान उपमहानगरपालिका तथा खानेपानी व्यवस्थापन बोडले सर्दु र खर्दुको मुहानको मर्मत गर्ने भएको हो । धरानका मेयर तथा बोर्डका अध्यक्ष तिलक राईले शनिबार र आइतबार मुहान क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यसक्रममा पानी चुहावत भइरहेको पाइएकोले मर्मत गर्ने निष्कर्षमा उपमहानगर तथा बोर्ड पुगेको हो ।
बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीका अनुसार मेयर राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानमा शनिबार र आईतबार निरीक्षण गरिएको थियो । खर्दुमा स्पोल प्रोटेक्सन गर्नुपर्ने उनले बताए । यसको लागि सुचना निकालेर आरसिसि वाल लगाउने बताए । केही प्रोटेक्सनको काम गरेर च्याम्बर बनाए पछि बर्खाको बेलामा पनि पानी ल्याएर सहज तरिकाले चलाउन सकिने उनको भनाई छ ।
खर्दुको मुहान क्षेत्रमा अनावश्यकरुपमा मानिसरुको प्रवेश गर्ने र फोहोर गर्ने गरेको पाइएकाले प्रतिबन्ध गर्ने पनि तयारी भइरहेको उनले बताए । ‘यो धरानको मुख्य खानेपानीको स्रोत सर्दु र खर्दु पनि हो । सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि हिजो पनि नगर प्रमुख ज्यूको नेतृत्वमा आपगाँछीदेखि निरीक्षण गर्यौ,’उनले भने,‘खर्दुको मुहान क्षेत्रमा अनावश्यक मानिसहरु प्रवेश हुने गरेको छ, त्यो पनि हामी बन्द गर्छौ ।’ खानेपानीको मुहान अति संवेदनशिल भएको कारण मानिसहरुलाई प्रवेश गर्न रोक लगाउनुपर्ने अधिकारीले बताए ।
खर्दुमा पहिरोका कारण खानेपानीको पाइपमा क्षति पुग्ने गरेको छ । त्यसको लागि खर्दुमा स्लोप प्रोटेक्सनको गरिने बोर्डको भनाई छ । वाल बनाएर पहिरोलाई पनि रोक्न सकिने इञ्जिनियर अधिकारीले बताए । सर्दुको मुहान लामपाते झरना नजिकै च्याम्बर निर्माण गरिनेछ । उक्त च्याम्बरबाट पाइप राखेर इन्टेकसम्म पानी आपूर्ति गर्ने बोर्डको योजना छ । बीच बीचमा सुरक्षाको लागि ग्याबिनको काम पनि गरिनेछ । यसो गरेपछि हिउँद र बर्षा दुवै समयमा खानेपानी ट्याप गर्न सकिने अधिकारीको भनाई छ ।