बिराटनगर: गत बर्ष २०७७ बैशाखदेखी चैत्र महिना सम्ममा १ नम्बर प्रदेशका १४ जिल्लामा साढे ६ हजार भन्दा बढी मुद्दा दर्ता भएको छ भने ३८ करोड बढी राजश्व संकलन भएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ६ हजार ८ सय ७६ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएको छ । अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएको कारण उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालयको दाबी छ । 

डिआइजी ईश्वरबाबु कार्की गत बर्षको बैशाखमा प्रदेश प्रहरी प्रमुख भएर आएका थिए । उनी आएपछि एक बर्षमा मात्र ६ हजार ८ सय ७६ वटा बिभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भएर पनि फरार रहदै आएका ७ सय ८७ जना पक्राउ परेका छन् । उनीहरुलाई ७ सय ४४ बर्ष कैद भुक्तान भई, ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ । 

यसैगरी सोही अवधिमा लागुऔषध नियन्त्रण तर्फ ३ हजार ४ सय ८८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ भने १ हजार २ सय १३.१९९ केजी गाँजा बरामद भएको छ । बिभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १ सय ११ ट्याब्लेट र सुई ८ हजार १ सय ४२ एम्पुल बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यस्तै, २ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरि ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ । भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १ सय ५० जना मानिस पक्राउ गरेका छन् भने १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । 

यही अवधिमा नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १ सय ४१ जना मानिस र ७ सय ६ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरिएको छ । साथै, ५५ लाख १८ हजार २ सय २० राजश्व पनि संकलन भएको प्रदेश प्रहरीको भनाई छ । अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३ हजार १.१२ क्यू.फिट. काठ बरामद भएको छ भने ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसै अवधिमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३ सय २३ वटा सवारी साधन कारवाहीमा परेका छन् । ती सवारीबाट १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ । कुल राजश्व ३८ करोड  १२ लाख ६१ हजार १ सय ७४ संकलन भएको प्रदेश प्रहरीले जानकारी दिएको छ । police-record