धरान: नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण नेपालमा पनि फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक परिपत्र जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । 

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले ७ बुँदे परिपत्र जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य पालना गर्न प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनुरोध गरेका हुन् । प्रतिष्ठानबाट बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउन, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्न र भरसक एकअर्कासँग २ मिटरको दुरी कायम गर्न आग्रह गरिएको छ । यसैगरि, आ आफ्नो कार्यालयमा सेनिटाइजर र मास्क प्रयोग गर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालयमा प्रवेश निषेध गर्न पनि अनुरोध गरेको छ ।

यस्तै, सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफाली बन्द डस्टबिन वा प्लाष्टिक झोलामा बन्द गरि बिर्सजन गर्न परिपत्रमा उल्लेख छ । पिसिआर परीक्षणको लागि स्वाब दिएको भए वा विदेश भ्रमण गरि आएको भएमा अनिवार्य होम क्वारेन्टाइनमा बस्न पनि प्रतिष्ठानले आग्रह गरेको छ । यसैगरि, प्रतिष्ठान हाताभित्र रहेको खेलमैदानमा कुनै पनि खेल नखेल्न र हिडडुल बन्द गर्न तथा जिमहल पनि बन्द गर्न सम्बन्धित शाखाले मिलाउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ । bp-notice