धरान: धरान १४ विजयपुरमा पिण्डेश्वर मन्दिर जाने सडकलाई क्षति पुग्ने गरी बाटो बनाउने, अनधिकृतरुपमा घर निर्माण भइरहेको पाइएको छ । 

अनुमति नलिई धमाधम घर निर्माण गरिरहेको र आफु खुशी बाटो खनेर सडकलाई नै असर गरेको पाइए पछि निर्माण सामग्री जफत गरिएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार आफुखुशी पक्की घर निर्माण भइरहेको छ । यस्तै, अर्काे घर बनाउनलाई सडक किनारको भित्ता पनि खन्ने कार्य भइरहेको थियो ।

bijay

घर निर्माण गर्नेहरुलाई प्रमाणसहित उपमहानगरपालिकामा आउन निर्देशन दिइएको नगर प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । उनले भने, 'अनुमति नलिई आफु खुशी घर बनाउने, बाटो खनेर सडकलाई नै असर गरेको देखियो । त्यसैले सामानहरु जफत गरेका छौं, र प्रमाणसहित नगरपालिका आउन भनेका छौं ।'

घर निर्माण गर्नेहरुले जग्गा धनी आफु भएको र घर बनाउने अनुमति लिएको प्रमाण पेश नगरे भत्काइने पनि कोइरालाले बताए । उनले भने, 'प्रमाणसहित नगरपालिका बोलाएका छौं । घर अर्काको नम्बरी जग्गामा पनि पर्छ भन्ने छ  प्रमाण नपुगेमा भत्काउने हो ।'