धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार धरानमा निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा कडाई गरिएको छ ।
प्रशासनले जिल्लाभर सवारी साधनहरु सञ्चालनको लागि जोर विजोर प्रणाली लागु गरेको छ भने स्वास्थ्य मापदण्ड पुर्णरुपमा अपनाएको हुनुपर्ने जनाएको छ । सोही अनुसार लागु भए नभएकोबारेमा धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल यातायात राष्ट्रिय महासंघ, जिल्ला ट्राफिक, ईलाका प्रहरी कार्यालय धरान, रेडक्रस सोसाइटीलगायतले संयुक्तरुपमा सचेतनामुलक कार्यक्रमसहित अनुगमन गरेको हो । प्रशासनको निर्णय अनुसार जोर गतेको दिन जोर नम्बर र विजोर गतेको दिन विजोर नम्बरको मात्र सवारीसाधनहरु सञ्चालन गर्न छुट छ । आज १८ गते जोर गते भएकोले जोर नम्बरको मात्र सवारीहरु चल्नुपर्ने हो । तर, यो नियमबारे सबैलाई जानकारी नभएको हुनाले र पहिलो दिन पनि भएकोले केही बेर होल्ड गरेर सम्झाई, बुझाई गरेर पठाउने गरेको ट्राफिक प्रहरीका असई नारदप्रसाद दाहालले जानकारी दिए ।
सचेतना कार्यक्रमका संयोजकसमेत रहेका यातायात व्यवसायी सरोज श्रेष्ठले संक्रमणबाट जोगाउन मास्क प्रभावकारी हुने भएकोले यात्रु, सर्वसाधारणहरुलाई मास्क लगाउनुपर्छ भनेर कार्यक्रम निरन्तर गरिएको बताए । यो कार्यक्रम धरानको भानुचोक र तिनकुनेमा केन्द्रीत रहेको छ ।