धरान: करिब दुई साताअघि धरान १५ पुर्वेली पथस्थित एक घरमा वृद्धाको हत्या गरि नगदसहित गरगहना लुटपाट गरेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वैशाख ११ गते बिहान करिब साढे ११ बजे घरमा एक्लै बसिरहेको बेला लुटेराको समुहले ८४ बर्षीय वृद्धा गोविन्द माया विश्वकर्मालाई टाउको लगायतत शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।

घटना पछि मृतककी बुहारी झरना बिश्वकर्माले कर्तव्य ज्यान र डाँका मुद्दामा जाहेरी दर्ता गरेकी थिइन् । घटनाको बेला बुहारी झरना र उनको छोरा जोहन पुजा गर्नको लागि घरबाहिर गएका थिए । उक्त समुहले नगद २ लाख, घरमा रहेको नौगेडी, चुरा, सिक्री, जन्तर लगायत गरगहनासमेत गरि ११ लाख ४० हजार ९ सय ५० बराबरको धनमाल डाका गरेको पीडित परिवारले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बुलाई पक्राउ गरेको छ । डकैती गरिएको गहनाहरु सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाएर राख्न दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको कोठामा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा सुनको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।