झापा: झापा प्रहरीले विभिन्न ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरेको छ । 

कोरोना महामारी तीब्र दरमा वृद्धि भइरहदा अस्पतालहरुमा संक्रमितको उपचारमा अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि झापा प्रहरीले सिलिण्डर संकलन गर्न सक्रियता देखएको हो । झापा प्रहरीले संकलन गरेको ती सिलिण्डरहरुमा पुनः अक्सिजन भर्नको लागि सम्बन्धित डिलरलाई बुझाएको जनाएको छ।

गत बुधबारदेखि हिजो शनिबारसम्म ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । ती सिलिण्डरहरु कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको प्रहरीको भनाई छ ।

ती सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ(आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी संकलन गरेको हो । सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने पनि झापा प्रहरीले जनाएको छ ।