धरान: कानुन विपरीत बाल विवाह गर्ने बेहुलासहित २ जना विवाहको मण्डपबाटै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ४ का बेहुला २६ बर्षीय मिथिलेश पाल र विवाह गराउने बेहुलाका सानो बुबा फुलचन पाल रहेका छन् । दुवै जनालाई प्रहरीले हिजो सोमबार करिब राती ९ बजे फुलचनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बेहुलाको सानो बुबा फूलचनको घरमा २६ बर्षीय मिथिलेश र देवानगंग गाउँपालिका १ का रमानन्द पालकी छोरी कल्पना कुमारी पालको विवाह भइरहेको थियो । बेहुली कल्पनाको उमेर १८ वर्ष ८ महिना १० दिन मात्र पुगेको थियो । उनको बालविवाह भइरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बाल विवाह रोकेको थियो भने बेहुला र उनको सानो बुबा फुलचनलाई मण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालमा २० बर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने कानुनी व्यवस्था छ । २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। पक्राउ परेका दुवैलाई मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ११ को विबाह सम्वन्धि कसुरको दफा १७३ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ । दुवैलाई बाल विबाहमा जिल्ला अदालतबाट मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।