धरान: लकडाउन उल्लंघन गरेर दिउँसो पसल खोल्ने धरानका डेढ दर्जन व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो धरान १८ स्थित वीपी सुन्दर बजार र भानुचोक क्षेत्रबाट १६ जना व्यापारीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पटक पटक सम्झाउदा पनि अटेर गरेर पसल खोल्ने र संक्रमणको जोखिम बढाउने गरेपछि नियन्त्रणमा लिनुपरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
अटेर गर्ने व्यापारीहरलाई केही घण्टा प्रहरी कार्यालयमा राखेर छोडिएको थियो । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार फेरि लकडाउन उल्लंघन नगर्ने सर्तमा छोडिएका हुन् । 'खाद्यान्न, तरकारीजन्य पसलहरु पनि बिहान १० बजेसम्म मात्र खोल्न पाइन्छ । त्यसविपरीत अरु पसलहरु पनि दिउँसो समेत खोलेको कारण नियन्त्रणमा लिइएको हो,'उनले भने,'आज १६ जना व्यापारीहरु नियन्त्रणमा लिएका थियौं, फेरि अटेर नगर्ने सर्तमा छोडियो ।'