धरान: खोटाङको जन्तेढुंगा गाउँपालिका ५ घोर्ले स्थित तारेभिरबाट टेम्पु खस्दा अटोमा सवार एक बालकको मृत्यु भएको छ । 

स्थानीय १३ बर्षीय गोकुल परियारको मृत्यु भएको हो । उनको उपचारको लागी धरान लैजादै गर्दा हिजो बेलुका ५ बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणिराम राई र ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । 

घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको छ भने अन्यलाई वीपी प्रतिष्ठान धरानेतर्फ पठाईएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकेर चिसापानी आउने क्रममा लु १ स ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट करिब ५०० मिटर तल खसेको थियो । ईलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले घाइतेहरुलाई उद्दार गरि उपचारको लागी धरान पठाएको हो । 

खाल्डोमा जमेको पानीमा महिलाको शव फेला 

 मोरङको रंगेली ५ आँपगाछीस्थित रमेश मण्डलको धान खेतमा बोरिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिलाको शव फेला परेको छ । 

मंगलबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय रंगेलीलाई शव भेटिएको जानकारी भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेर सोधीखोजी गर्दा मृतक ५५ बर्षीय पारुदेवी ऋषिदेव रहेको खुलेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाँस काट्न जादा लडेर मृत्यु

 ओखलढुङगाको मोलुङ गाउँपालिका ५ लिस्पुका ६५ बर्षीय युवराज नेपालको घाँस काट्न जादा लडेर मृत्यु भएको छ। मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएका थिए ।

अबेरसम्म पनि घर नआए पछि परिवारले खोजी गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडेर घाईते अबस्थामा फेला पारेका थिए । घाईतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

पानी खान जादा लडेर मृत्यु

 ईलाम नगरपालिका ११ का ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ। मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।