धरान: सुनसरीमा आजदेखि दुई साताको लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको छ ।
कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबाहेक सम्पुर्ण पसलहरु बन्द गरिएको छ । औषधी र उपचारमा बाहेक अन्य कुनै पनि प्रयोजनमा हिडडुलमा पनि मानिसहरुलाई पुर्णप्रतिबन्ध लगाइएको छ । दुध तथा दुधजन्य पदार्थ र डोको, साइकलमा हरियो तरकारी घरमा पुर्याउनलाई मात्र बिहान ८ बजेसम्म छुट दिइएका छ ।
धरानमा पनि लकडाउनलाई कडा गरिएको ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबै प्रहरीहरु फिल्डमा खटिएका छन् । मोवाइल गस्ती, धरान प्रवेश गर्ने सबै नाका, चोकहरुमा प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ । हिडडुल गर्नेहरुलाई सम्झाउदै फर्काउने गरिएको छ । आज बिहान मर्निङ वाक गर्ने करिब ८ जनालाई धरान १४ विजयपुर चोकमा एक घण्टाजति नियन्त्रणमा राखेर छोडिएको डिएसपी बस्नेतले बताए । उनले भने,‘सर्वसाधारणहरुकै स्वास्थ्यको लागि लकडाउन गरिएको हो, हामीले केही भन्न र गर्न नपरोस्, सबैले बुझेर घर घरमा नै बसिदिनुस् ।’