विराटनगर: मोरङको सुन्दरहरैचा नगरपालिका ३ स्थित लोचनीमा आज बिहान एक व्यक्तिको हत्या भएको छ ।
बिहान करिब ६ बजे स्थानीय ४० बर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार मृतकलाई घाँटीमा हतियार प्रहार भएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरी टोलीले ऋषिदेव हत्यामा संलग्न भएको आरोपमा स्थानीय २३ बर्षीय पुजन राईलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ परेका राईले फलामको बामफोक(दाउ)ले ऋषिदेवको घाँटीमा प्रहार गरि मारेको खुलेको छ । उनलाई बिहान ८ बजे नै उनको घरबाट पक्राउ गरेको पनि डिएसपी राईले जानकारी दिए । हत्यामा प्रयोग गरिएको दाउ राईको घरमा भएको भान्सा कोठाबाट वरामद गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी राईका अनुसार मृतक ऋषिदेवको घरमा सुतेकै अवस्थामा हत्या भएको थियो । अभियुक्त राईसँग पुरानो कुनै रिसइबी नदेखिएको पनि उनले बताए । 'अभियुक्त एकदमै सनकीपन भएको मान्छे हो भन्ने अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ, अझै पनि अनुसन्धानकै क्रममा छ,' उनले भने । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।