धरान: आत्महत्या गरेको एकसाता बितिसक्दा पनि आफन्तजन फेला नपरेपछि प्रहरीले मृतक युवतीको तस्बिर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतक युवतीको तस्बिर सार्वजनिक गर्दै मृतक वा उनको आफन्त, अभिभावकलाई चिन्नुहुनेले जानकारी गराएर सहयोग गर्न पनि अपिल गरेको छ । प्रहरीका अनुसार मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आफन्तजन आएपछि मात्र उनको शव पोष्टमार्टम हुनेछ ।
जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार मृतक युवती इनरुवा ३ स्थित एक घरमा डेरा गरि बसेका थिए । उनले बैशाख ३१ गते आत्महत्या गरेको अवस्थामा कोठामा शव फेला परेको थियो । उनको कोठाबाट भेटिएको नागरिकताले मात्र उनी उदयपुर जिल्लाको कटारी ३ (साविक) का दुर्गाबहादुर राईकी छोरी दिलकुमारी तामाङ(राई) भएको खुलेको डिएसपी कार्कीले जानकारी दिए ।
उनको घरमा र सम्बन्धित प्रहरी कार्यालयमार्फत पत्राचार गरेर अभिभावक खोजी गर्दा फेला नपरेपछि सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरिएको उनले बताए । ‘नागरिकता अनुसार ठेगानामा खोजी गर्दा कोही पनि आफन्तजन भेटिएन, त्यसैले कसैले चिन्ला कि भनेर तस्बिर सार्वजनिक गरिएको हो,’उनले भने ।
प्रहरीका अनुसार मृतक करिब एक महिनादेखि इनरुवामा डेरा गरि बसेका थिए । एक युवासँग प्रेम सम्बन्ध भएपछि उनी इनरुवा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती युवा भने हाल विदेशमा रहेको र उनीहरुबीच के कुरा भएको थियो भन्ने खुल्न नसकेको डिएसपी कार्कीले जानकारी दिए ।