धरान: कोरोना महामारीको दोस्रो लहरमा संक्रमणसँगै मृत्यु दर पनि बढ्दो छ । जसले गर्दा मृतकको शवहरुको व्यवस्थापन निक्कै कठिनाई भइरहेको छ ।
हालसम्म कोरोना संक्रमितको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ । यद्यपी, सेनाको टोलीलाई पनि हरेक स्थानीय तहमा पुगेर शव व्यवस्थापन गर्न निक्कै समस्या हुने गरेको छ । अब भने शव व्यवस्थापनमा नेपाल स्काउटको टोली पनि खटिने भएको छ । हरेक विपत्तिहरुमा परिचालिन हुने स्काउट टोलीलाई अहिले कोभिड महामारीको बेला पनि जटिल बनिरहेको शव व्यवस्थापनमा खटाउन लागिएको हो । यसको लागि नेपालको पुर्वी जिल्ला झापामा आजबाट नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरु गरेको छ । मोरंगमा भने हिजोदेखि नै तालिम शुरु भइसकेको स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए ।
स्काउट प्रदेश समितिको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा आजदेखि जेठ १२ गतेसम्म झापाको भद्रपुरमा शव व्यवस्थापन तालिम शुरु भएको हो । उक्त तालिममा जिल्ला भरीबाट आफ्ना १७ जना स्काउटरहरु सहभागी रहेको प्रदेश तदर्थ समितिका संयोजक खनालले जानकारी दिए । तालिममा नेपाली सेना २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिजय थापा बिशिष्ठ अतिथि, श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापा अतिथि रहेका थिए ।
कार्यक्रमका अध्यक्ष नेपाल स्काउट प्रदेश तदर्थ समितिका सदस्य राम प्रसाद पौडेलले प्रशिक्षार्थीहरुलाई तालिम पश्चात जनसेवा तथा राष्ट्र बिपत्तिको समयमा राष्ट्रिय स्वयंसेवकको भूमिका खेल्दै शव ब्यबस्थापन गर्न पछि नहट्न आग्रह गरे । नेपाली सेनाकातर्फबाट प्रथम सेसनमा श्रीनाथ गणका गणपति थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको भूमिका बारे प्रष्ट पारेका थिए । साथै, उनले प्रशिक्षार्थीहरुसँग सल्लाह, सुझाब लिनुका साथै जिज्ञासाहरु सोधेका थिए ।
नेपाली सेनाको तर्फबाट प्रशिक्षक लेफ्टिनेन डाक्टर समीर पुडासैनीले कोरोनाको बारेमा प्रष्ट पार्दै शव ब्यबस्थापनमा ध्यान पुर्याउनुपर्ने प्राथमिक तथा गहन बिषयहरुमा प्रकाश पारेका थिए । तालिम अवधिभर प्रशिक्षणमा रहेका प्रशिक्षार्थीलाई सिमित सुरक्षित स्थानमा बिशेष अनुशासन पालनाका साथ राखिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा प्रदेश सदस्य केसी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन प्रदेश सदस्य अरुण बस्नेतले गरेका थिए ।