धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत विरामीका आफन्तजनहरुले उपचार भइरहेको आफुहरुले पनि हेर्न पाउनुपर्ने माग गरेका छन् ।
कोभिड अस्पतालभित्र राखिएका संक्रमितहरुको कसरी उपचार भइरहेको छ भनेर यथार्थ जानकारी नभएको भन्दै उनीहरुले सिसिटिभीको स्क्रिन बाहिर कुरुवाहरुले हेर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । ‘खाना खायो कि खाएन, के कसो भइरहेको छ भित्र भनेर थाह हुनुपर्छ, यहाँ सेकेण्डरी स्क्रिन भएपनि राखिदिनुपर्छ,’एक जना कुरुवाले भने ।
कोभिड अस्पतालको जनरल बेडमा राखिएकी एक ५५ बर्षीया महिला लडेर गम्भीर घाइते भएको र हिजो सोमबार राती मृत्यु भएको जानकारी दिएपछि संक्रमितका आफन्तजनहरुले यो मागलाई जोडदाररुपमा उठाएका हुन् । उनीहरुले कोभिड अस्पतालमा धेरै लापरवाही भइरहेको र विरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको पनि आरोप लगाएका छन् । विरामीलाई दिएको खाना ढिलो गरि दिने, खाना खायो कि खाएन भनेर थाहै नपाउने, सिसिटिभी स्क्रिनबाट मात्र डाक्टरहरुले हेर्ने गरेको लगायत गुनासो गरेका छन् ।