धरान: ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनको लागि अनलाइनबाटै नाम दर्ता (रजिष्ट्रेसन) गर्न सकिने भएको छ ।
कोभिड–१९ को महामारीको कारण यस्तो व्यवस्था गरेको पोखरास्थित ब्रिटिश क्याम्पले जनाएको छ । क्याम्पका अनुसार जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकेको छ । यस्तै, रेक्रुट इन्टेक २०२२ को लागि १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेको युवाले मात्र नाम लेखाउन पाउने मापदण्ड बनाइएको छ । अनलाइन फाराम भर्न ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमार्फत् जानकारी दिने बताएको छ ।
ब्रिटिश क्याम्पका डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले मंगलबार यसबारे जानकारी गराएका हुन् । उनले रजिस्ट्रेसन अनलाइनमार्फत हुने र २८ जुनदेखि तीन हप्ताभित्र फर्म भरिसक्नु पर्ने बताए । उनले उमेर मापदण्ड पनि परिवर्तन गरिएको बताए । सामान्यरुपमा १८ देखि २१ वर्ष सम्मका युवाहरुले नाम दर्ता गर्न पाउने भएपछि यसपाली बिशेष परिस्थितिको कारण १९ देखि २१ वर्षकाले मात्र दर्ता गनए पाउने पनि उनले बताए ।
विगतमा रजिस्ट्रेसन र क्षेत्रीय छनोट पूर्वमा धरान र पश्चिम पोखरामा हुने गथ्र्यो । यसपटक भने रजिस्ट्रेसन अनलाइनबाट हुनेछ भने क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा मात्र गरिनेछ । आउँदो वर्ष ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरतर्फ १ सय ४० जना छनोट हुने क्याम्पले जनाएको छ ।
यस्तो छ आवश्यक शैक्षिक योग्यता:
शैक्षिक योग्यतातर्फ पनि ब्रिटिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स दुवैतर्फ एउटै शैक्षिक योग्यता तोकिएको छ । क्याम्पका अनुसार सन् २०१६ सम्म एसएलसी दिएर थर्ड डिभिजन वा २०१६ पछि एसईई गरेकाले पाँच विषयमा ‘सी ग्रेड’ हासिल गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ । अंग्रेजी र गणित विषयमा ‘सी लेभल’ प्राप्त गरेको हुनुपर्नेछ । कम्पार्टमेन्टबाट पास भएर कम्प्युटर इन्जिनियरिङ पढेकालाई स्विकार्य हुने तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट प्राविधि शिक्षा लिएकालाई मान्यता नदिइने क्याम्पले जनाएको छ ।