धरान: कोशी राजमार्गको सडक खण्डमा पर्ने धरान ८ वरगाछीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक करिब एक महिना पछि पक्राउ परेका छन् ।
गत बैशाख २० गते राती करिब साढे ८ बजे पैदल यात्री सहलमान राईलाई मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । मजदुरी गरेर डेरा तर्फ फर्कदै गरेका राईलाई अरुण पेट्रोल पम्प र बरगाछीको बीचको सडकमा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएपछि मोटरसाइकल चालक केहीबेर रोकिएर फरार भएका थिए ।
उक्ट घटना सिसिटिभी फुटेजमा कैद भएपनि मोटरसाइकल नम्बर र चालक प्रष्ट नदेखिएको कारण फरार भएका चालक पक्राउ पर्न सकेका थिएनन । करिब एक महिनासम्मको अनुसन्धान पछि प्रहरीले हिजो मोटरसाइकल चालकलाई पक्राउ गर्न सफल भएको थियो । उनलाई आज जिल्ला अदालत सुनसरीबाट सवारी ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धानमा राखेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार ठक्कर दिएर फरार भएको मोरटसाइकल चालक धरान १५ पुष्पलाल मार्गमा डेरा गरी बस्ने २४ बर्षीय मिङ्मा शेर्पा हुन् । उनले चलाउने गरेको मे ७ प ५९९१ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
घटनालगत्तै फरार भएका शेर्पाको मोटरसाइकल नम्बर ५९९१ स्थानीयले प्रहरीलाई उपलब्ध गराए पनि कुन लटको र कहाँ दर्ता भएको भन्ने प्रष्ट नहुँदा पक्राउ गर्न समय लागेको प्रहरीको भनाई छ ।
‘५९९१ नम्बरको मोटरसाइकल देख्ने मान्छे थियो । हामीले कोशीमा यो नम्बर सबै लटमा खोज्यौं, यहाँ फेला परेन । अरु जिल्लामा पनि पठायौं । लकडाउनले पनि समस्या भएको थियो,’प्रहरी निरीक्षक ओलीले भने,‘पछि यो बाइक यही फेला पार्यौं । मेचीको नम्बर रहेछ । पक्राउ गरेर सोधपुछ गर्दा उसले नै सबै खुलायो ।’ घटनाको बेला प्रत्यक्षदर्शीले मोटरसाइकलमा सेतो खुकुरी क्रस भएको स्टिकर देखेको बताएका थिए । प्रहरीले शेर्पासँगै नियन्त्रणमा लिएको मोटरसाइकलमा पनि उक्त स्टिकर भएको ओलीले बताए ।