धरान: कोरोना महामारीको दोस्रो लहरको कारण बिहिबार धरानमा सिमित संख्याको उपस्थितिमा साइकलप्रेमीहरुले विश्व साइकल दिवस २०२१ मनाएका छन् ।
ट्रायथलन धरान र साइक्लिङ विपीकेआइएचएसले न्युन संख्यामा साइक्लिष्टहरुको उपस्थितिमा यो दिवस मनाएको हो । पुर्वमा साइक्लिङको क्रेज सबैभन्दा बढी धरानमा छ । यहाँ स्वास्थ्यको लागि मात्र नभै खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि साइक्लिष्टहरु सक्रिय छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिमित संख्यामा साइक्लिष्टहरुको उपस्थितिमा केक काटेर मनाइएको हो ।
प्रतिष्ठानको बास्केटवल कोर्टमा रेक्टर प्रा.डा.गुरु खनालले केक काटेका थिए । उनले संक्षिप्तरुपमा सम्बोधन गर्दै वीपी प्रतिष्ठानलाई पनि साइकलमैत्री बनाउन आवश्यक रहेकोबारेमा धारणा राखेका थिए । उनले साइक्लिङले स्वास्थ्यलाई धेरै फाइदा हुने बताए । भेलामा प्रतिष्ठानका डिन डा.सिवेन्द्र झा, डा.मधुर बस्नेत, डा.लोकेस जैयसवाललगायत चिकित्सकहरु पनि उपस्थित थिए ।
ट्रायथलन धरानका अभियन्ता डा.समिर चौधरीका अनुसार विश्व साइकल दिवस सन् २०१८ देखि जुन ३ तारिखलाई मनाउन थालिएको हो । ‘नेपाल र धरानमा पनि साइकलप्रतिको क्रेज छ । यातायातको साधनको माध्यम मात्र नभै शारीरिक र मानसिक स्वास्थ्यको लागि पनि साइकल अत्यन्तै उपयोगी छ । पर्यावरणलाई पनि फाइदा हुन्छ,’डा.चौधरीले भने,‘कोभिडको कारण वृहतरुपमा मनाउन नसके पनि थोरै संख्यामा जनचेतनाको लागि मनाएको हौं ।’
ट्रायथलन धरानले प्रत्येक महिनाको अन्तिम शुक्रबार साइकल रेस गराउने गरेको छ । धरान १३ ओशो आश्रमदेखि चिण्डे डाँडासम्म ५ किलोमिटरको अपहिल साइकल रेस हुने गरेको छ । उनीहरुलाई प्रोत्साहनको लागि नगद पुरस्कार पनि दिने गरिएको डा.चौधरी बताउँछन् । ‘ट्रायथलन धरानको उद्देश्य ट्रायएथलेट खेलाडी उत्पादन गर्ने हो । यसमा स्विमिङ, साइक्लिङ र रनिङ हुन्छ,’उनले भने,‘अहिले धरानमा ९ जना ट्रायथलनका युवा खेलाडीहरु छन्, साइक्लिङ मात्रे गर्नेहरु त धेरै छन् ।’