मोरङ: मोरङको सुन्दर हरैचाबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न भएका ७ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्ने सबै सुनसरीको इटहरी निवासी छन् । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा इटहरी १३ का २८ बर्षीय राजेश महेता, इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ, इटहरी २ का ३९ बर्षीय भवेस भन्ने सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय राते भन्ने मनोज परियार छन् । 

प्रहरीका अनुसार जेठ १२ गते राती सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित एक घरमा डेरा गरी बस्ने मदनकुमार चौरीको मोटरसाइकल चोरी भएको थियो । उनको प्र-१-०५-००१ प-००६१ नं. को रातो कलरको २ सय सिसिको एनएस मोटरसाइकल चोरी भएपछि इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा इटहरीका राजेश मेहताको घरबाट हिजो शुक्रबार उक्त चोरीको मोटरसाइकल फेला पारेका थिए । पक्राउ परेका मेहतासँग थप वयान लिने क्रममा अन्य ६ जना पनि संलग्न भएको खुलेपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।