धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले आइतबार मौन जुलुस गरेको छ ।
धरान उपमहानगरपालिकाको गेटबाट भानुचोकसम्म मौन जुलुस गरेको हो । राष्ट्रिय र स्थानीय मुद्दाहरुलाई लिएर मौन जुलुस गरिएको दबाब सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माले जानकारी दिए । उनले भने,‘केही राष्ट्रिय र केही स्थानीय मुद्दाहरुलाई लिएर मौन जुलुस गरिएको हो ।’
संयोजक शर्माका अनुसार चुरे दोहन बन्द गरिनुपर्ने, बजेटको राष्ट्रघाती बुँदा नं १९९ खारेज गर्नुपर्ने, बिपी प्रतिष्ठानको बेथिती अन्त्य गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, सर्दु जलाधार क्षेत्रको संरक्षण गरिनुपर्ने, स्वास्थ्य शिक्षामा सिण्डिकेट बन्द गर्नुपर्नेलगायत माग राखेर मौन जुलुस गरिएको हो ।
मौन जुलुसअघि नागरिक दबाब सञ्जालको बैठकमा ३ वटा बिषयमा छलफल भएको थियो । बैठकमा वीपी प्रतिष्ठान, धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा भएको घटना र सर्दु खोलामा भएको झडपको बिषयमा छलफल भएको संयोजक शर्माले बताए । जेठ २४ गते दबाब सञ्जालले प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिदै ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त अल्टिमेटमको समय जेठ ३१ गते सकिदैछ ।
‘वीपीका पदाधिकारीहरुसँग दोस्रो चरणको छलफल अघि बढाउन उपमहानगरपालिकाले संयोजनकारी भुमिका निर्वाह गर्ने र छलफल अघि बढाउने निर्णय भएको छ,’संयोज शर्माले भने,‘प्रहरी चौकी आक्राणको घटनाबारे गुण्डाहरुको संरक्षण कसैले पनि नगर्ने र दोषीमाथि कडा कारबाही गर्ने निर्णय भएको छ । यस्तै, सर्दुको घटनामा नगरपालिकाले जेठ मसान्तसम्म नियम अनुसार ठेक्का लगाएको, ठेकेदारको काम अवरोध गर्न जाने र धाकधम्की दिन जाने घटना भयो । उक्त दुःखद घटनामा घाइते भएकाहरुको स्वास्थ्यलाभ कामना गर्दै अब उप्रान्त त्यस्तो घटना हुन नदिने निर्णय भएको छ ।’