धरान: मारवाडी मिड युथको आयोजनामा शनिबार धरानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड १९ महामारीको कारण रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगत अभाव भइरहेको कारण रक्तदान कार्यक्रम गरिएको आयोजक मारवाडी मिड युथले जनाएको छ । उक्त रक्तदान कार्यक्रममार्फत २०३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक अनिलकुमार अग्रवाल (प्रिन्स) ले जानकारी दिए । उनले भने,‘कोभिडले गर्दा ब्लड बैंकमा रगत अभाव भएर विरामी मर्ने स्थिति भयो, त्यसैले रेडक्रससँग समन्वय गरेर रक्तदान कार्यक्रम गर्दा २०३ पिन्ट रगत संकलन भयो । अहिलेको स्थितिमा यो धेरै नै हो ।’
भानुचोकमा आयोजित रक्तदान कार्यक्रममा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, २ नम्बर वडाका अध्यक्ष माधवगोविन्द श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम विना आयोजना भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको संयोजक प्रिन्स अग्रवालले जानकारी दिए ।
आयोजक संस्था मारवाडी मिड युथ २५ जना मारवाडी युवाहरु मिलेर बनाएको समुह हो । यो समुहले गोप्यरुपमा विभिन्न सामाजिक कार्य तथा सहयोगहरु गर्दै आइरहेको छ । यो समुहले पद बाँडफाड गरेको छैन, र जसले कार्यक्रमको अवधारणा बनाउछन्, उसैलाई संयोजक तोकेर कार्यक्रम गर्ने गरेको छ । ‘सामाजिक काम गछौं । अक्सिजन दिएका छौं, खाना खुवाएका छौं, तर सबै गोप्य नै गछौं,’रक्तदान कार्यक्रमका संयोजक अग्रवालले भने,‘हामी साथीहरु आफै मिलेर सहयोग गछौं । हाम्रो समुहमा पदाधिकारी छैन, कार्यक्रम गर्दा एक जना संयोजक हुन्छ । जसले कार्यक्रमको अवधारणा बनायो, उही संयोजक बनाउछौं ।’