धरान: प्रदेश विपद व्यवस्थापन परिषदले प्रदेश मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ स्वीकृत गरेको छ ।
परिषदको अध्यक्ष एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहिबार बसेको ५ औं बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो । बैठकमा उक्त कार्ययोजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको मन्त्रालयका प्रवक्ता कमल थापाले जानकारी दिए । केही दिनदेखि मनसुन सक्रिय भई मुलुकको विभिन्न भागमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भइरहेको र प्रदेश १ मा पनि बाढी पहिरोबाट क्षति हुनसक्ने आंकलन गरेर मनसुन पुर्वतयारी र प्रतिकार्यलाई जोडतोडले अघि बढाउन प्रदेश विपद व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई बैठकले निर्देशनसमेत दिएको सचिव थापाले जानकारी दिए ।
यस्तै, मनसुन विपद प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि, २०७७ अनुसार प्रदेश सरकारबाट व्यहोर्ने लागत, त्यसबाट सृर्जना हुने दायित्व र कार्यविधिमा भएका अन्य बिषयहरु समेत विस्तृत अध्ययन गर्न एक कार्यदल पनि गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव संयोजक रहेको कार्यदलले सुझाव सहितको प्रतिवेदन एक महिना भित्र पेश गर्न समय दिइएको छ ।