झापा: झापाको दमकबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय सौरभ राई रहेका छन् । उनीहरुलाई हिजो सोमबार दिउसो सवा ३ बजे दमक ६ थाना रोडबाट ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर २ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुलेपछि थप २ जना पक्राउ परेको दमक प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बसोबास गर्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावा रहेका छन् । उनीहरुको कोठाबाट ५ लाख १४ हजार ३ सय पनि वरामद भएको थियो ।
बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको खुलेपछि उनीहरुको घरमा गएर प्रहरीले खानतलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि ईलाका प्रहरी कार्यालय दमकको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।