धरान: विकट गाउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासंघले कोरोना संक्रमित गम्भिर विरामीहरुका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उदेश्यले महासंघले पहिलो चरणमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ । महासंघका निवर्तमान अध्यक्षसमेत रहेकी संयोजक रिता गुरुङकाअनुसार नेपालका कोरोना संक्रमणको दर र मृत्यु दरमा सोचेजति कमि नआएकाले महासंघले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दुताबास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन वीच समन्वय गरेर नेपालमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।

उनका अनुसार महासंघलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको थियो । ती सबै एकै पटक नेपाल पठाउने प्रयास गरे पनि एयर कार्गो समस्याले पहिलो चरणमा सय थानमात्र पठाउन सकिएको बताइन् । उनले बाकी सयथान पनि चाडै पठाउने जानकारी दिइन् । उनी हङकङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटिका उपाध्यक्ष समेत हुन् । नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यबस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरुको समन्वयमा भइरहेको उनले बताइन् ।

चिनको कुनमिन शहरबाट प्रति कन्सन्ट्रेटर १ हजार १ सय ५० अमेरिकी डलरमा दुइसय थान खरिद गरिएको र एउटैको तौल करिव ३० केजि हुने भएकाले सवै एकसाथ एयर कार्गो गर्न नसकिएको गुरुङको भनाई छ । अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने हङकङको गैर सरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिदै उनले अर्को चरणमा १ लाख एन्टिजेन टेस्टिङ किट पठाउने तयारी पनि भइरहेको बताइन् । 

महासंघका पुर्व अध्यक्ष प्रदीप थापाले सकेसम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक मध्ये कम्तीमा एक थान अक्सिजन कन्सन्ट्रेटर पु¥याउने लक्ष राखेको बताए । कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितीमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासंघले १० लिटर प्रति मिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सन्ट्रेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्था समेत महासंघ आफैले गरेको अध्यक्ष टंक रानाले बताए ।