धरान: सुनसरीबाट चाईनिज स्याउ तस्करी प्रकरणबारे गठन भएको छानबिन समितिको प्रतिवेदन र तस्करीमा संलग्न प्रहरीलाई भइरहेको कारबाहीबारे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डिआइजी अरुणकुमार बिसीले तस्करीमा प्रत्यक्ष संलग्न भएको भनि छानबिन समितिले ठहर गरेअनुसार ४ जनालाई कारबाही भइरहेको जानकारी दिएका हुन् । यस्तै, संलग्न नदेखिए पछि यसअघि निलम्बनमा परेका २ जनालाई फुकुवा गरिएको पनि उनले जानकारी दिए । अनुसन्धानको क्रममा वयान र तस्करीमा संलग्न भएका आशंका गरिएका प्रहरीहरुको कल डिटेल अध्ययन गर्दा कुनै पनि प्रहरी कर्मचारीहरुबाट आर्थिक लेनदेन गरेको भने पुष्टि हुन नआएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सुनसरी मातहत कार्यत प्रहरी कार्मचारीहरुबाट आर्थिक लेनदेख गरेको तत्काल पुष्टि नभए पनि स्याउ तस्करीहरुसँग पटक पटक सम्पर्क र समन्वय भएको देखिएको छानबिन प्रतिवेदनले ठहर गरेको छ । तस्करीमा प्रत्यक्ष संलग्नता भई अवैधरुपमा भारतर्फ तस्करी गराइएको देखिएकोले एक जना सई, २ जना असई र एक जना प्रहरी हवल्दारलाई कारबाही गर्न सिफारिश भए अनुसार कारबाही भयरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कारबाही हुनेमा प्रहरी चौकी श्रीपुर जब्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका प्रहरी सहायक निरीक्षक भपुराज पोखरेल, १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीमा कार्यरत प्रहरी नायब निरीक्षक किरण मोक्तान र श्रीपुर जब्दीमा कार्यरत प्रहरी हवल्दार विरेन्द्रकुमार यादव छन् । ‘उनीहरुको संलग्नता देखिएकोले कारबाही गर्न छानबिन समितिले सिफारिश गरेकोछ, त्यसैअनुसार कारबाही हुन्छ,’प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले भने ।
यसैगरि, अस्थायी प्रहरी चौकी कोशी कटान, प्रहरी चौकी श्रीपुरजब्दी र सिमा प्रहरी चौकी भण्टाबारीमा कार्यरत अन्य प्रहरी कर्मचारीहरु हालसम्म तस्करीमा प्रकरणमा कुनै पनि संलग्नता पुष्टि हुन नआएको प्रतिवेदन पाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोही अनुसार निलम्बनमा परेका सई गंगाप्रसाद थापालाई चेतावनीसहित निलम्बन फुकुवा गरिएको छ भने असई आश नारायण माझीको निलम्बन पनि फुकुवा गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
गत जेठ २९ गते नेपालबाट तस्करी गरिएको स्याउ भारतीय प्रहरीले नियन्त्रणमा लिएको सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धानको लागि तत्कालै सिमा प्रहरी चौकी भण्टाबारी सुनसरीमा कार्यरत सई गंगाप्रसाद थापा, श्रीपुर जब्दी सुनसरीमा कार्यरत असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानमा कार्यरत असई आश नारायण माझीलाई निलम्बन गरेको थियो । साथै, प्रदेश प्रहरी कार्यालयले गत जेठ ३० गते संघीय प्रहरी कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले छानबिनको क्रममा जेठ २९ गते ना ६ ख १५१२ नम्बरको ट्रकमा जनकपुरबाट स्याउ लोड भएको, प्रदेश १ ०२ ००१ ख ८०४१ नम्बरको ट्रकमा सप्तरीको कञ्चनपुरस्थित कोल्ड स्टोमा र ना ६ ख १८९५ नम्बरको ट्रकमा विराटनगरको रामजानकी कोल्ड स्टोरमा स्याउ लोड गरेको पत्ता लगाएको थियो । ती ट्रकहरु सुनसरुकिो हरिपुर चोकबाट दक्षिण जाने बाटो हुदै सशस्त्र प्रहरी बल, बिओपी लाही कोशी गाउँपालिका वडा ६ र ७ लाही सुनसरीको नाकाबाट भारतको बीरपुर भन्ने स्थानमा पुगेको पुष्टि भएको थियो ।