विराटनगर: सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दोषी ठहर भएपनि फरार रहेका २ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले कारागार पठाएको छ । 

फरार रहेका सुनसरीको ईटहरी २ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी ३ का ४१ बर्षीय लक्ष्मण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । फरार प्रतिबादीहरु खोजतलास अभियान अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (आर.आई.टि.) बाट खटिएको प्रहरी टोलीले दुवैलाई हिजो पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेका लक्ष्मणको मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०७३ भदौ ४ गते फैसला सुनाएको थियो । उनको हकमा अदालतले ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकेको थियो । तर, उनी फरार भएका थिए । 

यसैगरी पक्राउ परेका अर्का बिकाशलाई पनि सुनसरी जिल्ला अदालतले नै २०७३ भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकेको थियो । उनी पनि फरार रहेका थिए । पक्राउ परेका दुबै जनालाई सुनसरी जिल्ला अदालतमा दाखिला गराएर कैद तथा जरिवाना असुलको लागि झुम्कास्जिथत क्षेत्रीय कारागार पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।