धरान: धरान वडा नं ५ तल्लो देउरालीस्थित सुन्दर बस्तीमा एक व्यक्तिको शव उनकै घरमा रहेको पानट्यांकीभित्र फेला परेको छ । 

करिब ४७ बर्षीय विनोद लिम्बुको शव उनकै घरको खानेपानीको ट्यांकीभित्र फेला परेको हो । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने साथै अनुसन्धान कार्य गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको छ । मृतक इजरायलबाट फर्केपछि धरान ५ मा घर बनाएर बसेका थिए । त्यहाँ उनले इजरालयकै प्रविधि अपनाएर तरकारी खेती गरेर बसेको माओवादी केन्द्रका नेता चोत्लुङले जानकारी दिएका छन् ।

मृतकको पत्नी पनि इजरायलमा नै रहेको बताइएको छ । उनी घरमा एक्लै बस्दै आएका थिए । परिवारका अन्य सदस्यहरु धरानको भोटेपुलमा छन् । परिवारसँग सम्पर्क नभएपछि आफन्तजन आएर हेर्दा रगतको टाटाहरु देखेको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर अनुसन्धान एवं खोजी गर्ने क्रममा शव पानीट्यांकीमा भेटिएको थियो । 

वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुले पनि हत्या भएको हुनसक्ने बताए । उनले आफु पनि घटनास्थलतर्फ गइरहेको जानकारी दिए । ‘मारेर खानेपानीको ट्यांकीमा फालेको भन्ने कुरा छ, म पनि त्यता जादैछुँ,’उनले भने ।