धरान: अवैधरुपमा सर्दु खोलामा उत्खनन् गरिरहेको २ वटा ट्रयाक्टरलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
धरान १७ स्थित धरान–चतरा सडक मार्गमा पर्ने सर्दु खोला पुलमुनि पिल्लर नजिकबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर ओसारपसार गरिरहेको ट्रयाक्टरलाई हिजो साँझ नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी, ईलाका प्रहरी र उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीको संयुक्त टोलीले शनिबार साँझ करिब ५ बजे स १ त ५२९४ र को २ त ६५१४ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । उक्त टोलीले दुवै ट्रयाक्टरलाई आवश्यक कार्बाहीको लागि धरान उपमहानगरपालिकामा बुझाएको छ ।
ती ट्रयाक्टरले अवैधरुपमा रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको नगर प्रहरीले जनाएको छ । ती ट्रयाक्टर कस्को हो भन्ने खुलेको छैन । सुरक्षाकर्मीको संयुक्त टोलीलाई देखेपछि ट्रयाक्टरको चालक, सहचालक फरार भएका थिए । अवैधरुपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई पनि नियन्त्रणमा लिएर आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने नगर प्रहरीले जनाएको छ ।