धरान: भानुचोक घण्टाघर पुर्व कपडा, कस्मेटिक र गहनाको पसल सधै झैं बन्द गरेर मंगलबार राती शशीकला राई घर मात्र के पुगेकी थिइन्, उनलाई अत्याउने खबर आयो । तनाव र हतास हुदै उनी पसल आइन् । आगोले उनको पसल स्वाहा पारिसकेको थियो ।
मंगलबार राती भानुचोकस्थित मिनि मार्केटमा भएको आगलागीमा क्षति हुने पसलमध्ये उनको पनि हो । डेढ दशकभन्दा बढी समयदेखि व्यापारमा रहेकी शशीकलालाई आज बिहान भेट्दा उदास र चिन्तित थिइन् । आफुले भर्खर थपेको सामानहरु पनि सबै आगोमा जलेको उनको भनाई थियो । ‘१७, १८ बर्षदेखिको लगानी थियो, धागोसम्म पनि निकाल्न पाइन,’उनले सुनाइन्,‘पसल बन्द गरेर घर मात्र पुगेको थिएँ, फेरी पसल आइपुग्दा सबै जलिसकेको थियो ।’
उक्त आगलागीमा आफ्नो सम्पत्ति गुमाउनेमा उनी एक्ली होइनन् । उनीसँगैको कोपिला श्रेष्ठको फेन्सी पसल पनि पुर्णरुपमा जलेको छ भने मनिषा साहको कपडा पसल, दिपेन तामाङको कपडा पसल र नाम नखुलेको एउटा खाजा पसल भएको सटरमा पनि आगलागीले क्षति पुगेको छ ।
यस्तै, सटरहरुसँगै जोडिएको माथिल्लो पट्टीको आशिष चौधरीको किराना पसल र बस्ने कोठा पनि जलेर क्षति पुगेको छ । चौधरीका अनुसार ५, ६ लाखको क्षति भएको छ । यसैगरि, आशिष लिम्बुको फेन्सी पसलमा आगोले नभेटेपनि दमकलको पानीले कपडाहरु सबै भिजेर क्षति पुगेको छ । उनले आफ्नो ६० लाख बढी क्षति पुगेको बताए ।
प्रहरीले घटना मुचुल्का उठायो, क्षति विवरण आउन बाँकी
प्रहरीले आज बिहान घटनास्थलको सर्वमिन मुचुल्का उठाए पनि अझै क्षतिको पुर्ण विवरण आएको छैन । मुचुल्कामा गएको टोली अझै आइनपुगेको कारण के कति क्षति भएको भन्न नसक्ने प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले भने,'मुचुल्का उठाउन गएको हाम्रो टोली आइपुगेको छैन, ८ वटा सटरमा आगोले क्षति पुगेको देखिएको छ ।'