धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र वडा न. ६ का ४० जनाभन्दा बढी मानिसहरु गरैया टापुमा फसेका छन् ।

कोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुको गरैया भन्ने ठाउँमा फसेका मानिसहरुलाई उद्दार गर्न नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली पुगेको छ । तर, टापुमा फसेका सबैजना भने आउन नचाहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले भने,‘उद्दारको लागि म आफै फिल्डमा छुँ, आर्मी र सशस्त्रको टोली पठाएका छौं, तर सबै आउन चाहिरहेका छैनन् ।’

प्रअिज ढकालका अनुसार केही व्यक्तिले आफुहरु सुरक्षित रहेको भन्दै आउन चाहेका छैनन् भने केहीले असुरक्षित महशुस गरेर आउन चाहेका छन् । आउन चाहनेजतिलाई सेना र सशस्त्रको टोलीले उद्दार गरेर ल्याउने पनि प्रजिअ ढकालले बताए । उनका अनुसार वारी (सुनसरी) पट्टिी पनि घर भएका ४०, ५० जना व्यक्तिहरु कृर्षि र पशुपालनको लागि टापुमा गएको बेला बाढी आएपछि उतै थुनिएका हुन् । घटनाबारे जानकारी आएपछि उद्दार टोली तत्कालै पठाएको र आफु पनि फिल्डमा आएको प्रजिअ ढकालले बताए ।

प्रशासनले ५ वटा बोट सहित सेना र सशस्त्रको टोली पठाएको थियो । त्यसमध्ये ३ वटा मात्रै बोट उद्दारको लागि टापुमा गएको छ । ‘३ वटा बोटले नै आउन चाहने जतिलाई पुग्ने भयो, आउन चाहने अरु थपियो भने थप बोट पनि पठाउछौं,’प्रजिअ ढकालले भने ।

सप्तकोशीमा पानीको बहाव यो बर्षकै सर्वाधिक प्रतिसेकेण्ड २ लाख ४९ हजार ६ सय क्युसेक मापन गरिएको छ । पानीको बहाव बढेसंगै कोशी ब्यारेजका ५६ मध्ये ३४ वटा ढोका खोलिएको छ। कोशीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानीको वहाव पुगेपछि खतरा मानिन्छ ।