विराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समुहको आधारभुत तालिममा सहभागी प्रहरी जवानहरु दिक्षित भएका छन् । 

प्रदेश प्रहरी कार्यालयका अनुसार ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन् । गत बर्षको मंसिर ३ गतेदखि प्रहरी जवानको १३८ औं समुहको नौं महिनाको आधारभूत तालिम शुरु भएको थियो । सोही समुहको ६७१ जना प्रशिक्षार्थीहरुलाई २ सय ३४ दिन तालिम दिइएको थियो । उनीहरु १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा दिक्षित भएका हुन् ।

प्रहरी जवान तालिममा सहभागी १३३ जना महिला र ५३८ पुरुष दिक्षित भएका छन् । ती मध्ये १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा ४८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । उनीहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्तरुपमा दिक्षित गरिएको हो ।

police2

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक डिएसपी बिनोद शर्माले तालिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी दिए । प्रशिक्षार्थीहरुलाई केन्द्रकी समादेशक एसएसपी मीरा चौधरीले सफथ ग्रहण गराएकी थिइन् ।

यसैगरि, तालिम अवधी भर लिईएको चरणगत परिक्षामा प्राप्त गरेको अंकको आधारमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगरसहित विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी डिआइजी बिसीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

police1

डिआइजी बिसीले  कोभिड १९ को कारण प्रशिक्षार्थीहरुका अभिभावक एवं परिवारका सदस्यहरु आउन नपाएकोमा दुःख प्रकट गरे । साथै उनले अत्यन्तै चुनौती र  जोखिमले भरिएको भए पनि मर्यादित प्रहरी पेशामा आफ्ना सन्तानलाई प्रवेश गर्न हौसला दिने परिवारजनप्रति आभार प्रकट गरे । उनले दिक्षित प्रहरीहरुलाई शुभकामना दिदै कार्यक्षेत्रमा मन, बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका खटेर जनताको सेवा गर्न पनि निर्देशन दिए ।