धरान: प्रहरीले धरानमा एक बोरा बेवारिसे गाँजा फेला पारेको छ भने इटहरीबाट गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् । गाँजा ओसारपसारमा संलग्न थप एक जना भारतीय विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नं १७ नमुना वस्तीस्थित सर्दु खोलाको बगरबाट १ बोरा बेवारिसे गाँजा फेला परेको हो । उक्त बोरामा अन्दाजी २० किलो गाँजा रहेको र ईलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

इटहरीमा गाँजासहित दम्पत्ति पक्राउ

सुनसरी प्रहरीका अनुसार कोशी राजमार्गमा चेकजाँचको क्रममा गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् । इटहरी १२ स्थित कोशी राजमार्गमा विराटनगरतर्फ जादै गरेको प्र.१-०२-०४३ प.८८०४ नं. को मोटरसाईकलमा सवार २७ बर्षीय दिपेन्द्र राई र उनकी श्रीमति २५ बर्षीया शर्मिला राई पक्राउ परेका हुन् । 

पक्राउ परेका दम्पत्ति इटहरी ४ मा डेरा गरि बस्छन् । उनीहरुको स्थायी घर भने धनकुटाको साँगुरीगढी गाउँपालिका ८ रहेको प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलमा ह्यापी बर्थडे लेखिएको रंगीचंगी र्यापिङ् पेपरले बाहिरबाट वेरेर राखेको कार्टुन र मोटरसाइकलको ले गार्डमा झुण्ड्याएर बोकेको जेब्रा झोलाभित्रबाट गाँजा वरामद गरेको प्रहरीको भनाई छ । कार्टुनभित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका र लेगार्डमा रहेको झोलामा प्लाष्टिकमा प्याक गरेको ४ पोका गाँजा प्रहरीले वरामद गरेको थियो । तत्काल तौल गर्दा उक्त गाँजाको तौल २१ किलो रहेको सुनसरी प्रहरीले जनाएको छ । 

भारतीय पनि पक्राउ

प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि भारतीय नागरिक ३० बर्षीय टुनटुन यादवलाई पनि मोरङप्रहरीको सहयोगमा विराटनगरबाट पक्राउ गरिएको छ । उनी बिहारको अररिया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ६ विसनपुर निवासी हुन् । तिनै जनामाथि सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा आज(बुधबार) ९ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।