धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।
यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो देखिने नक्कली सामान दिएर २ जना व्यक्तिले सिक्री र नगद ठगी गरेर फरार भएका छन् । अपरिचित दुई ठगले सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीका ती महिलाबाट आधा तोलाको सुनको सिक्री र ३० हजार नगद ठगेका हुन् ।
पीडित महिलाका अनुसार उनी आफ्नी आमाको उपचार गर्न वीपी प्रतिष्ठान आएकी थिइन् । वीपीमा ओपिडी सेवा ठप्प भएकोले उनीहरु घर फर्कने तरखरमा थिए । चक्रघट्टी जाने गाडी चढ्नको लागि धरान १८ स्थित बुद्धचोक आइपुगेका थिए । त्यसैबेला मोटरसाइकलमा आएका २ जना पुरुष उनीसँग गफिन आइपुगे । ती मान्छेले उनलाई ५ तोलाको सुन भन्दै देखाए । त्यसबापत ३० हजार र महिलाले लगाएको आधा तोला सुन मागे ।
महिलालाई बुद्धचोकदेखि ५० मिटर जतिको दुरीमा रहेको सुन पसलमा गएर चेक गर्न पठाए । त्यसै बेला मोटरसाइकलमा २ व्यक्ति फरार भइहाले । सुन व्यवसायीले उक्त सुनजस्तो देखिने वस्तु नक्कली भएको पुष्टि गरिदियो । ती महिला बुद्धचोकमा फर्केर आइपुग्दा ती व्यक्तिहरु फरार भइसकेका थिए । स्थानीयहरुले पीडित महिलालाई प्रहरीमा उजुरी गर्न सुझाव दिए । सोही अनुसार पीडितले प्रहरीमा पुगेर जाहेरी दिएकी छिन् ।