विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।
प्रदेश सरकारले प्रदेशस्तरीय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता सम्बन्धी सम्पूर्ण काम सोही समितिले गर्ने उनले बताए । समितिको उपाध्यक्षमा भीमा खतिवडालाई नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने उनले बताए । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन ।
प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै मन्त्री साम्सोहाङलाई ध्यानाकर्षण गराउन आएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ समितिको टोली समक्ष उनले यो कुरा बताएका हुन् । अपाङ महासंघको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ती हुनुपर्ने लगायतका ५ बुँदे माग मन्त्री साम्सोहाङलाई बुझाएको थियो ।
प्रदेश स्तरका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु राज्यको नीति अनुरुप समावेशीकरण गराउन र संघीयस्तरमा बनेका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रमको कार्यन्वयनका लागि सकारात्मक दवाव दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत सरोज नेपालीले बताए । मन्त्री साम्सोहाङँले महासंघले राखेका माग प्रति आफु सकारात्मक रहेको बताए ।