सुनसरी: सुनसरीको ईटहरी उपमहानगरपालिका १६ लायन्स चौकमा पर्ने पुर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सवा ११ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिशाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट दुवै जना गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरीलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

धनकुटाको पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा २ ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । हिजो दिउसो ११ बजे भोजपुरबाट धरानतर्फ आउदै गरेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरेर पठक गम्भिर घाईते भएका थिए । 

उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठ ईलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।