धरान: सुनसरीबाट बिहिबार दिउँसो अपरहण गरि भारत पुर्याइएको १० बर्षीय बालकलाई प्रहरीले १० घण्टापछि उद्दार गरि नेपाल ल्याउन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो बिहिबार दिउँसो करिब ३ बजे कोशी गाउँपालिका ७ स्थित नेपाल भारत सिमा नजिकैबाट १३ बर्षीय दिपेन सदा अपहरणमा परेका थिए । उनलाई भारतको सुपौल जिल्ला, ग्राम पंचायत बदबदैपुर वडा नं ६ बैरयाकमलबाट उद्दार गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार भारतीय प्रहरीको समेत सहयोग लिएर सुनसरीबाट खटिएको टोलीले आज राती १ बजेर ५० मिनेटमा बालकलाई उद्दार गरि नेपाल ल्याएको हो ।कमदार नपठाउने र पैसा पनि फिर्ता नगरे पछि उनीहरुकै गाउँको बालक सिमा पारी सामान किन्न गएको बेला आफ्नो पैसा असुल्न अपहरण गरेको एसपी थापाले बताए ।
प्रहरीका अनुसार बालकको अपहरणमा बिहार सुपौल, ग्राम पञ्चायत बदबदैपुर वडा नं ६ बैरयाकमालका मुकुम मिँयाको संलग्नता रहेको छ । उनी नेपालबाट भारततर्फ नेपाली जयला मजदुरी गर्ने कामदारहरु लैजाने ठेकेदार हुन् । उनलाई नेपाली कामदारहरु उपलब्ध गराइदिने भनेर कोशी गाउँपालिका ७ का भुटन सदालगायत ५ जनाले अग्रिम २ लाख रुपैया भुक्तानी लिएपनि कामदार नपठाएको खुलेको छ । साथै, भुल्टन मुकुम मिँयाको सम्पर्कमा पनि नगएकोले मिँयाको समुहले भुल्टन सदाकै गाउँको बालक दिपेन सदालाई अपहरण गरि लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अपहरणको लागि मुकुम मिँयासहितको समुह २ वटा मोटरसाइकलमा आएर बालकलाई बीचमा राखेर नेपालबाट भारततर्फ करिब ३५ किलोमिटर दक्षिण मिँयाकै घरमा लगेर राखेको अवस्थामा उद्दार गरेको सुनसरी प्रहरीले जनाएको छ । अपहरण पश्चात उनीहरुले बालकलाइ कुटपिटसमेत गरेको पीडितले बताएका छन् । अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ भने अपहरण तथा शरीरबन्धक शिर्षक अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।