झापा: झापाको गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् ।प्रहरी निरीक्षक अनिल माबोहांगका अनुसार प्रारम्भिकरुपमा पुरानो रिसइबीको कारण हत्या भएको जस्तो देखिएको छ । यद्यपी, पक्राउ परेकाहरुको वयान लिन बाँकी नै रहकेो कारण यथार्थ कारण आउन केही समय लाग्ने उनले बताए ।
प्रहरीले सद्दामको घर तलासी लिने क्रममा सेफ्टी ट्यांकी भित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला पारेको थियो । प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य बस्तुहरुसमेत बरामद गरेको छ । हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।