धरान: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । 

आज बुधबार प्रदेशसभामा विश्वासको मतमाथि भएको मतदानबाट उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका ९२ सदस्यीय सदस्यहरुमध्ये सभामुखबाहेक ७९ जना उपस्थित थिए । ती मध्येबाट प्रस्तावको पक्षमा ५० मत पायो भने विपक्षमा मात्र २९ मत रह्यो । मुख्यमन्त्री राईलाई सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतले समर्थन गरेपछि विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाका कुल ९२ सांसद छन् । ती मध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । एमालेका नेता तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राईलाई गठबन्धनले मुख्यमन्त्रीकोरुपमा अघि सारेको थियो । उनी कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।