धरान: पोखराको रुपाताल मुनि सातमुहानेस्थित ताल खोलामा तटबन्ध निर्माणमा खटिएका मजदुर रोजन राईको १५ बर्षअघि हत्या भएको थियो । अशोक गुरुङले चिपर्ट प्रहार गरे पछि घाइते भएका राईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । यो घटना २९ वैशाख २०६३ को हो ।

रोजनको हत्या भएको १५ वर्ष पुगिसक्यो । त्यतिबेला २० वर्षका उनको पोखरामा न कोही आफन्त थियो, न चिनाजानी । उनको हत्याबारे खोजी गर्ने पनि कोही भएनन् । प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गर्यो तर कसैको संलग्नता पुष्टि भएन । प्रहरीबाट मुक्ति पाएपछि अशोक वैदेशिक रोजगारीमा गए । हत्याकाण्ड त्यसै सेलायो । 

रोजनको हत्या भएको १५ वर्षपछि फेरि त्यो हत्याकाण्ड सतहमा आएको छ । २१ असारमा कास्की प्रहरी प्रमुख भएर यहाँको कमान्ड सम्हाल्न आएका एसपी रमेश थापा पुराना जघन्य अपराधको सूची हेर्दै थिए । त्यसैमा उनले राईको हत्यारा पत्ता नलागेको देखे । त्यसपछि गहिरो अनुसन्धानमा खटिए । 

प्रहरीले रोजनको हत्यामा अशोक गुरुङ नै संलग्न रहेको अनुसन्धानबाट पत्ता लगायो । तर उनी भने रोजगारीका लागि बहराइनमा थिए । कास्की प्रहरीको अनुसन्धानकै आधारमा नेपाल प्रहरीले गएको २७ मंसिरमा अशोकविरुद्ध रेड नोटिस जारी गरेको थियो । बहराइन प्रहरीले त्यही नोटिस बमोजिम अशोकलाई पक्राउ गरेको छ । 

हत्या गरिएका रोजनलाई पोखरामा चिन्नेजान्ने कोही थिएनन् । उनलाई खोज्दै कोही पनि आएन । मात्रै सातमुहानेका स्थानीयसँग उनले आफ्नो घर सुनसरीको धरान भएको बताएको कास्की प्रहरीले फेला पा¥यो । त्यो पनि १५ वर्षपछि । अब कास्की प्रहरी हत्या भएका रोजन राईका आफन्तको खोजीमा छ । ‘घर सुनसरी धरान हो भनेको थाहा भयो,’ एसपी थापा भन्छन्, ‘तर चिनेजानेका कोही भेटिएनन् ।’ कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध पनि गरिसकेको छ । तर पत्ता लागेको छैन । अहिले प्रहरीसँग राईको तस्विर पनि छैन । 

रोजन मारिइसके । हत्यारा १५ वर्षपछि भए पनि पक्राउ परे । अब मारिएका राईका आफन्त खोजी गरी न्यायको प्रत्याभूति दिलाउने चाहना एसपी थापाको छ । एसपी थापा भन्छन्, ‘आफन्तलाई न्यायको अनुभूति होस् भनेर आफन्तको खोजी गरिरहेका छौ ।’उनले प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्ने भए पनि आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने पनि बताए ।